सिक्किमीकरणतर्फ ?

[ 1 ] December 22, 2015 |
Dr. Rames Khatry

Dr. Rames Khatry

“भारतमा आउनुस र सगरमाथा चढ्नुस् !” प्रधानमन्त्री नरेन्द्र मोदी चाहन्छन्  भारतका पर्यटन व्यवशायीहरूले यस्तै विज्ञापन केही वर्षपछि गरून् । एक राजनीतिक व्यक्तिले “महान् प्रधानमन्त्री”को रूपमा आफूलाई स्थापित गर्न खोज्नुमा आश्चर्य छैन । तर नरेन्द्र मोदीले महान्  हुने क्रममा एक वर्षअघि  जसरी नेपालीहरूलाई मोहनी लगाएका थिए अहिले तिनीहरूलाई नै सताएका छन् ।

 

महान् बन्‍ने चाहना  

स्वतन्त्र भारतको पहिलो प्रधानमन्त्रीको रूपमा जवाहरलाल नेहरूले आफ्नो देशलाई एक धर्म निरपेक्ष संविधान अपनाउन अगुवाइ गरे । उनका उपप्रधानमन्त्री सरदार बल्लभभाइ पटेलले सब राजा रजौटाहरूलाई गणतन्त्र भारतमा गाभ्ने प्रयासमा नेपालमाथि पनि आँखा गाडेका थिए । तर, नेहरूले लोकतान्त्रिक तवरले निर्वाचित पहिलो नेपाली प्रधानमन्त्री बी. पी. कोइरालालाई मन पराएनन् । बी. पी.का दाजू मातृकाले लेखेका छन् नेहरूले राजा महेन्द्रलाई बी. पी. हटाउन प्रोत्साहन दिए, संसद विघटन गर्न होइन । तर, महेन्द्रले बी. पी.लाई  हटाएनन् मात्र  तर  संसद पनि विघटन गरे । तर्सथ, नेहरूको  बी. पी.-घृणाको सिकार नेपालको लोकतन्त्र भयो । नेहरूले उचित फल चीनका अध्यक्ष माओबाट पाए ।  “प्रोफाइल्स अफ इन्डिएन् प्राइम मिनिस्टर्स” नामक पुस्तकमा लेखिका मनिषाको विचार छ— सन् १९६२को युद्धमा चीन भारतसंग हारेपछि नेहरू राजनीतिक तवरले लंगडो भए ।

 

नेहरूकी छोरी इन्दिरा गान्धीलाई महानता त्यस बेला आयो जब उनी पाकिस्तानबाट बंगलादेशलाई अलग गर्न सफल भइन् । लेखिका मनिषा भन्छिन्, “डिसेम्बर १९७१ को १४ दिने भारत-पाकिस्तान युद्धपछि इन्दिरा गान्धी उच्चाइको शिखरमा पुगिन्…अटलविहारी भाजपेयीले इन्दिरा गान्धीलाई ‘दुर्गा भगवती’ भनी नाम दिए ।” तर, दुर्गाले आफ्नो अर्को आकांक्षातर्फ ध्यान दिन थालिन्—सिक्किमलाई भारतमा गाभ्नु ।

 

प्रष्ट छ मोदीले  सरदार बल्लभभाइ पटेल र इन्दिरा गान्धीलाई आफ्ना आदर्श मानेका छन् । आफ्नी पत्‍नीको मृत्युपछि पटेल ब्रम्हचारी रहे भने मोदीले आफ्नी स्वास्‍नीलाई त्यागेर सोही अवस्थामा पुगे । प्रधानमन्त्रीको रूपमा मोदीले नेहरूले गरेको निर्माण भत्काउने कदम चाली सकेका छन् । जवानी अवस्थादेखि  नै रा. स. स.को सदस्य भएका मोदीलाई नेहरूद्वारा भारतीय संविधानमा  स्थापित धर्म निरपेक्षता मन परेको छैन । रा. स. स.कै नाथुराम गोड्सेले मुस्लिमहरू तर्फ सदभाव राख्‍ने एम.के. गान्धीलाई मारेका हुन् भने गुजरातमा २००० भन्दा बढी मुस्लिमहरूको हत्या हुँदा मुख्य मन्त्री मोदीले सो  रोक्‍न कुनै  सक्रियता देखाएनन् । बरु, अहिले गुजरात हत्या काण्डलाई अनुसन्धान गर्ने मानव अधिकारवादीहरूलाई निस्तेज गर्न मोदी  सक्रिय छन् । भारतमा गाई काट्न रोक्‍ने प्रयासमा त्यसको मासु खाने मुस्लिमहरूले ज्यान गुमाउनुपरेको छ । मोदीकै अनुयायीहरूले दिल्लीमा कति चर्चहरूलाई क्षति पुराए । मोदीको असहिष्णुता देखेर भारतका  प्रतिस्ठित व्यक्तिहरूले आफुले जितेका पुरस्कारहरू सरकारलाई फिर्ता दिन थाले ।

 

भारतद्वारा सिक्किमको विलय

भारतको रिसर्च र अनालिसिस विंग (“र”)ले इन्दिरा गान्धीलाई सन् १९७० तिर नै भनेको थियो चाहेमा सिक्किमलाई २४ घन्टा मै लिन सकिन्छ । सिक्किमलाई भारतमा गाभ्ने काम सन् १९७३मा शुरु भयो । “द अम्ब्यास्डोर्स क्लब” नामक पुस्तकमा बी. एस. दासले सिक्किम-विलय- षडयन्त्रको वर्णन गरेका छन् । त्यस देशको सरकार कब्जा गर्ने  इन्दिरा गान्धीको आदेश बोकेर राजदूत दास सिक्किम पुगे । सिक्किममा बस्‍ने ७५% नेपालीहरूबीच काजी लेन्डुप दोर्जे र  उनका अनुयायीहरू आफ्नो देश भारतमा गाभिएको चाहन्थे । उनीहरूकै प्रोत्साहन पाएर भारतीय सेनाले सिक्किमका प्रहरीहरूलाई ब्यारेकमा थुने । दास लेख्छन्, “मे ८, १९७३मा चोग्याल र काजी लेन्डुप दोर्जेबीच भारतलाई चोग्यालको वंशको संरक्षक राख्‍ने र सबै जातिहरूलाई न्याय दिने सम्झौताले सिक्किमको भाग्य निश्चित गर्‍यो ।” भारत पहिला चोग्यालको संरक्षक बन्यो अनि विश्‍वासघातक किनभने उसले चोग्यालको वंशको रक्षा गरेन ।

 

राजदूत दासले चोग्याललाई सम्झाए कि सिक्किम कहिले स्वतन्त्र थिएन । चोग्याल “भारतका अरू रजौटाहरूबीच एक थिए, र भारतीय फौजका एक मानार्थ सेनापति…तसर्थ भारतकै राजनीतिक प्रणालीको एक सदस्य ।” त्यसबाहेक दासअनुसार चोग्यालले चीनसँग सम्पर्क राखेर अनि  नेपालको राजाको राज्याभिषेकमा भाग लिएर ठूलो भूल गरे !

 

आफ्नो देश सिक्किमको स्वतन्त्रता जोगाउन र हुनेवाला चुनाव जित्‍न चोग्यालले आफ्नो भ्रमण शुरु गरे। जनताले उनको अपमान गरे र उनका तस्वीरमा जुत्ताका माला लगाइदिए । चोग्यालको दलले ३२ सिटमा केबल एउटा जित्यो । राजदूत दासले अब “गभर्नर”को जिम्मेवारी लिएर संसदमा चोग्यालको भाषण पढेर सुनाए, चोग्याल आफैले पढ्न पाएनन् । सिक्किम कांग्रेसले चोग्याललाई हटाउने र देशलाई भारतसँग विलय गराउने माग राखे । जनमत संग्रहले दुवैलाई समर्थन गर्‍यो । तसर्थ, भारतले सिक्किमलाई लिएर जनताकै “कानुनी” माग पूरा गर्‍यो भन्‍ने बाटो पायो ।

 

समानता र पाठहरू

भारतको रिसर्च र अनालिसिस विंग (“र”) सिक्किममा झैं नेपालमा सदा सक्रिय छ । काजी लेन्डुप दोर्जेले भारतसँग देशको विलय चाहेझैँ नेपालका आन्दोलनरत मदेशी अगुवाहरूको अघोषित आशय यही हो । रोटी र बेटीको नाता भएको भारतसँग किन नमिल्ने ? उनीहरूको एक मदेश एक प्रदेश माग पूरा भएमा भारतसँग सो प्रदेश  गाभ्न र अहिलेको जस्तो नाकाबन्दीद्वारा  पहाडवासीहरूलाई सताउन झन् सजिलो  हुनेछ । भारतले  मूल मदेशी अगुवालाई उसको नयाँ राज्यको  “गभर्नर” एक चोटि  बनाउला र सदाको लागि रद्दीको टोकरीमा फालिदेला । नेपालको लागि भारतीय पूर्व राजदूत राकेश सुदले लेखेका छन् उनी त्यस सभामा उपस्थित थिए जहाँ मदेशीहरूलाई स्वायत्त राज्यको प्रतिज्ञा गरियो । आफ्ना छोराछोरीहरूको लागि छात्रवृत्ति निवेदन गर्ने र अन्य सुविधा लाजै नमानी माग्‍ने हाम्रै नेताहरूको स्वाभिमानहीनताले गर्दा  भारतीय राजदूतहरूले सदा आफूले प्रयोग गर्न पाउने अधिकारभन्दा बाहिर गएका छन् । एमालेलाई आफ्नो प्रतिज्ञा तोडेर शुशिल कोइराला भारतकै हुकुममा दोस्रो चोटि प्रधानमन्त्रीको पदमा उठे । रक्सौलका होटलमा सित्तैमा पाएका खाना छोडी आन्दोलनकारी मदेशी नेताहरू शुशिल कोइरालालाई भोट हाल्न भारतलाई ढोगी संसद  छिरे । शेरबहादुर देउवा अघिनै दिल्ली पुगेका थिए, नेपाली संविधानमा धर्म निरपेक्षता हुने छैन भनी मोदीलाई आश्वासन दिन ।

 

नेपाल वा  तराई अर्को सिक्किम भयो भने त्रिभुवनदेखिका राजाहरू र   हालका “लोकतान्त्रिक” नेताहरूले यसको जिम्मेवारी लिनुपर्छ । जोर्डन देशका नरम निरंकुश राजा हुसेनझैँ हाम्रा राजाहरूले एक पार्टीलाई अर्कोसँग लडाउनुभन्दा देशको अपार जलविद्युत क्षमतामा  विकास गर्न सक्थे र  अहिले भारतीय नाकाबन्दीमा नागरिकहरूले दाउरामा  होइन तर  बिजुलीमा खाना पकाउन सक्थे । हाम्रा नेताहरूले  भारतमा लुकीलुकी   स्वदेशमा  १० वर्षे युद्ध लडे, भएका  विद्युत उत्पादन भवनहरू पनि बमद्वारा ध्वस्त पारे, र “चरी” र “घैंटे” जस्ता गुन्डाका सहारामा आफ्नै  दुनो सोझ्याए ।

 

मोदीले पनि ख्याल गर्नुपर्छ इन्दिरा गान्धी र राजीव गान्धीको अन्त्य अरूको मामिलामा हस्तक्षेप गरेर नै भएको हो । भाजपेयीले इन्दिरा गान्धीलाई ” दुर्गा भगवती ” भनी नाम दिएझैं मोदीलाई पनि “शिव ” कहलिन मन पर्ला तर ढिलोचाँडो “माथिबाट ” इन्साफ हुन्छ नै ।

(यस निबन्धलाई  सम्पादन गरी  “सिक्किम विलयको सार” नाम दिएर “नेपाल” पत्रिकाले मंसिर २७, २०७२को अंकमा छापेको हो । हेर्नुहोस्: http://nepal.ekantipur.com/news/2015-12-09/20151209200453.html रमेश खत्री, डिसेम्बर २२, २०१५)

Facebook Comments

Category: Articles, Socio-political